गणतन्त्रको उपहास : रेसम फिरिरि - Chaitanya News
  • 2026-11-16
  • 02:05:35
  • आइतबार,कार्तिक ३०, २०८३
  • गणतन्त्रको उपहास : रेसम फिरिरि

    गणतन्त्रको उपहास : रेसम फिरिरि

    जनतामा उत्साह छैन। केवल आक्रोस नै आक्रोसमात्र छ। गणतन्त्र १५ वर्षीय जवान भइसक्यो। तर, जनताका आसा र गणतन्त्रप्रतिको विश्वास गुम्दो छ। आज दुई सय ४० वर्षीय एकतन्त्रात्मक व्यवस्था राजतन्त्र ढलेको दिन हो। जनताको अधिकार स्थापित गर्न गणतन्त्रका लागि हजारौं सहिदहरूले प्राणको आहुति दिएका छन्। कठिन संघर्षपछि जननिर्वाचित संविधानसभाले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

    तर, आज त्यो दिनको स्मरण उल्लासपूर्ण हुनसकेको छैन। व्यवस्थाप्रति विरोधका स्वरहरू चर्किंदै गएका छन्। नेताहरूले गौरव गर्नलायक इतिहास र वर्तमान बनाउन नसक्दा जनता उदासिन बनेको कुरालाई नकार्न मिल्दैन। नेताहरूको टुडिखेलमा भ्रामक तामझाम छ। तर, जनताको उत्साह सुन्यतामा छ। यस्तो दिवसको अपरिहार्यता के? भनेर जनताले प्रश्न गरिरहेका छन्। राजनीति अर्थात राज्यको नीति। त्यही नीति बनाउने व्यक्तिहरू गैरजिम्मेवार र गैरनैतिक बनिदिँदा जनताले गणतन्त्रात्म व्यवस्थामाथि नै प्रश्न उठाइरहेका छन्। र, सहिदका परिवारले प्रश्न गरिरहेका छन्- के हाम्रा सन्तानको रगत यही दिन देख्नलाई बगाएका हुन्?

    आज गणतन्त्र दिवस मनाउने तामझाममा उत्रिँदै गरेका राजनीतिक दल, तिनका शीर्ष नेता र शासन सत्ताको उपल्लो तहमा बसेकाहरूले यसको उत्तर दिनुपर्नेछ। गणतन्त्र घोषणाको सात वर्षपछि संविधानसभाले संविधान जारी गर्‍यो। राज्यको पुनःसंरचना पनि गरिएपछि तीन तहका सरकार बनेका छन्। संविधानको जगमा उभिएको यो व्यवस्थाका केही मूलभूत विशेषता छन्, समावेशी राज्य संयन्त्रको प्रत्याभूति, बृहत् मौलिक हक र धर्म निरपेक्षता। महिला, मधेसी, आदिवासी जनजाति, दलित, अल्पसंख्यकलगायत समुदायको समानुपातिक प्रतिनिधित्व। यो गणतन्त्रको सुन्दर अनुहार हो। तर, यो अनुहारलाई नीति निर्माता अर्थात राजनीतिज्ञहरू नै कुरुप बनाउन लागि परेका छन्। अनि जनताले कसरी महसुस गर्नु मुलुकमा लोकतान्त्रीक गणतन्त्र छ भनेर।

    कानुनको ठाडो उलंघन भइरहेको छ। मुलुकमा अपराध, भ्रष्टाचार र दण्डहिता मौलाउँदो छ। गणतन्त्रले तीनै तहका अदालतबाट अपराधी मुकरर भएर आजीवन कारावासको सजाय पाइरहेका रेशम चौधरीहरूलाई उन्मुक्ति दिएको छ। टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका रेशमलाई १६औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिए। रिहाई पछि उनको र्‍यालीसहित स्वागत गरियो। आम माफी पाएर जेलबाट रिहा भएका चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको छ। २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको छ।

    उक्त आपराधिक घटनालाई राजनीतिक घटनाको रुप दिन खोजेर रेशमलाई उन्मुक्ति दिइएको छ। अदालतले नै दोषि ठहर गरेर जन्मकैदको फैसला गरिएका व्यक्ति छुट्दा पीडितहरूले असन्तुष्टि जनाइरहेका छन्। र, नेताहरूको उक्त कदमप्रति जनताले चरम असन्तुष्टि जनाएका छन्। दोषि ठहर भएकाहरू रेशम फिरिरि भन्दै तामझामका साथ बाहिर निस्किने अवस्था आउँदा जनतालाई यो व्यवस्थाप्रति असन्तुष्टि बढ्नु पनि स्वभाविकै हो।