विराटनगर– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आन्दोलनरत पक्षको माग सम्बोधनका लागि प्रदेशको नाम संशोधन गर्न माग गरेका छन्।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राईले नामकरणको निर्णयले परिणाम राम्रो नआएको बताए।
‘यो नामलाई सच्याऔं, परिणाम राम्रो दिइरहेको छैन’, उनले भने,‘ हिजो कोशीको पक्षमा मतदान गरेका सांसदले केही न केही अनुभूति गरेका छन्।
नागरिक प्रत्यक्ष सडकमा उत्रिएको बताउँदै नेता राईले उनीहरुको माग सम्बोधनका लागि पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गरे। नामको निर्णयका कारण प्रदेशसभा सदस्य आफ्नै क्षेत्रमा जान नसक्ने अवस्था आएको उनको भनाइ छ।
जनमत प्रष्ट रुपमा पहिचानको पक्षमा देखिएको बताउँदै राईले पहिचानलाई स्वीकार गर्न प्रदेश सरकारलाई आग्रह गरे।
राप्रपा सांसद अम्बरबहादुर विष्टले वार्ताद्वारा आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नुपर्ने बताए। उनले सरकारलाई तत्काल वार्ता समिति गठन गर्न पनि आग्रह गरे।