काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले मानव स्वास्थ्यका लागि पनि पशुहरूको स्वास्थ्यबारे बोध हुनुपर्ने बताएका छन्। मानव जीवन र पशुको सम्बन्ध अन्योन्याश्रित हुने भएकाले मानवजत्तिकै पशुको स्वास्थ्यबारे पनि संवेदनशील हुनुपर्नेमा उनले जोड दिएका हुन्।
मानवको स्वास्थ्यबारे बहस भइरहे पनि पशुहरूको स्वास्थ्य स्थिति र उनीहरूको उपचारबारे पर्याप्त छलफल नहुँदा रोग संक्रमणको जोखिम बढेको मन्त्री भुसाललको भनाइ छ।
मासु तथा दूध सेवन गर्दा मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्छ। मन्त्री भुसालले भने, उक्त असरबारे हामीले सोचेकै छैनौँ।
काठमाडौँमा आजदेखि सुरु भएको महिला पाराभेटेरियनहरूको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै डा. भुसालले पशुजन्य रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि पनि पशुसेवा क्षेत्रलाई मानव स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा देखिएका १४१५ थरीका संक्रमणमध्ये करिब ६० प्रतिशत पशुबाट संक्रमण भएको पाइएको बताइन्छ।
देशभर ३ जना पाराभेटेरियन महिला
नेपालमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा ३ हजार ६ सय जना संलग्न रहेका छन्। जसमध्ये २ सय जना भेटेरियन, ३ हजार जना पाराभेटेरियन तथा ४ सय जना ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरू रहेका छन्। पशु सेवा क्षेत्रमा संलग्न जनशक्तिमध्ये ३ सय जना पाराभेटेरियन महिलाहरूले सेवा दिँदै आइरहेका नेपाल पाराभेटेरियन तथा लाइभस्टक एसोसिएसन, केन्द्रीय महिला विभागकी संयोजक गीता धमलाले बताएकी छिन्। धमलाका अनुसार सरकारले पशु विकासको क्षेत्रमा क्रियाशील महिला पाराभेटलगायत जनशक्ति परिचालन र व्यवस्थापन गर्न नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा ल्याउन नसक्दा महिला पाराभेटहरू उत्प्रेरित हुन सकेका छैनन्।
यस्तै नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालन व्यवसाय तथा यससँग सम्बन्धित पशुजन्य पदार्थको उत्पादन, विविधीकरण, प्रशोधन तथा पशुपालन व्यवसायको उचित व्यवस्थापनमा संस्थाको महत्त्वपूर्ण भूमिकारहको बताए।
महिला पाराभेटेरियनहरूको दोस्रो राष्ट्रिय भेला आजदेखि सुरु
महिला पाराभेटेरियनहरूको दोस्रो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। महिला पाराभेटेरियनहरूको पहिचान प्रतिनिधित्व र पेशागत सुरक्षा सुनिश्चितताका लागि आबद्ध सदस्यहरूलाई संगठित गर्दै उनीहरूलाई व्यवस्थित गर्ने उद्देश्यले सोमबारसम्म भेला सञ्चालन हुने छ।