रूपन्देही– रूपन्देहीका होटल व्यवसायीले घरभाडामा छुटको व्यवस्था गर्न आग्रह गरेका छन्।
पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सहयोग स्वरूप घर भाडा छुट गर्न घरधनीहरूलाई उनीहरूले आग्रह गरेका हुन्। कोभिड–१९ र आर्थिक संकटलगायतले व्यवसाय थला परेको उनको भनाइ छ।
आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायमा टिक्न ठूला समस्या भएको भन्दै घरभाडा कम गर्न घरधनीसँग आग्रह गरे। अहिलेसम्म २० जना घरधनीले २० देखि ४० प्रतिशतसम्म घरभाडा घटाएका छन्।
‘झण्डै दुई दर्जन बढी व्यवसायीहरूले छुट पाएका छन्’ उनले भने, ‘जटिल अवस्थालाई मध्यनजर गर्दै घर बहाल छुट गर्ने, बैंकको ब्याजदर कम गर्ने र घरभाडा कानून निर्माणमा जोड दिनुपर्ने आवश्यकता छ।’ रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटल भाडाको घरमा सञ्चालन हुँदै आएका छन्।
बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसक्दा पर्यटन क्षेत्रले ठूलो क्षति बेहोरेको उनले बताए।
हाल संघमा १ हजार २ सय ३ जना व्यवसायीहरू आवद्ध छन्।
संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले होटल नै घरधनीलाई जिम्मा लगाएर हिडनुपर्ने अवस्था आएको बताए। वार्षिक २र३ अर्ब क्षति व्यहोर्नुपर्ने अवस्था आएको वरिष्ठ उपाध्यक्ष खनालले बताए।
बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको उनको विश्वास छ।
संघका महासचिव अर्जुन थापाले होटल व्यवसायको भाडा न्यूनीकरणले व्यवसाय सञ्चालन तथा निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्ने बताए। यो पहिलो चरणको अभियान रहेको उनको भनाइ छ।