विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा - Chaitanya News
  • 2026-11-16
  • 04:50:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

    विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

    विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा आज (शनिबार) देखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’ बाट हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
    मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाइएको छ ।

    ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

    जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।