सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिदै - Chaitanya News
  • 2026-06-03
  • 05:27:31
  • मंगलबार,जेठ १९, २०८३
  • सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिदै

    सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिदै

    धनगढी – सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा डेंगीको संक्रमण गत वर्षभन्दा तेब्बरले बढेको तथ्यांकले देखाएको छ।

    गत वर्ष ८८ जनामा डेंगी देखिएको सुदूरपश्चिममा यो वर्ष भने हालसम्म मात्रै २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। विगतमा डेंगीको संक्रमण तराईमा बढी देखिने गरेको भए पनि यस वर्ष भने पहाडी जिल्लामा पनि यसको जोखिम बढदै गएको छ।

    स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा हालसम्म ८४ जना डेंगीका संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जिल्लाका सबै पालिकामा डेंगीका बिरामी फेला परेको बताए। उनले किट अभावमा सबै ठाउँमा परीक्षण गर्न नसकिएको बताए।

    स्वास्थ्य निर्देशनालय डोटीका अनुसार डडेल्धुरामा १६, दार्चुलामा ४६ जना, कञ्चनपुरमा ३०, डोटीमा १५, अछाममा १०, बैतडीमा ९, बझाङ र बाजुरामा ७–७ जनामा संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी ओमप्रकाश जोशीले प्रदेशका सबै जिल्लामा डेंगीका बिरामी फेला परेको बताए।

    सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगीको संक्रमण फैलिने गरेको छ। सुदूरपश्चिममा हरेक वर्ष यसको संक्रमण बढ्दो क्रममा छ। एडिस एजिप्टाइ र एडिस एल्विकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुने चिकित्सकले बताएका छन्।