आयोगले गरेका सिफारिस सरकारले पूर्णरुपमा कार्यान्वयन गरेन : अध्यक्ष मगर - Chaitanya News
  • 2026-11-16
  • 01:03:25
  • आइतबार,कार्तिक ३०, २०८३
  • आयोगले गरेका सिफारिस सरकारले पूर्णरुपमा कार्यान्वयन गरेन : अध्यक्ष मगर

    आयोगले गरेका सिफारिस सरकारले पूर्णरुपमा कार्यान्वयन गरेन : अध्यक्ष मगर

    काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाएपनि परिणाम सन्तोषजनक आउन नसकेको बताएका छन्।

    शुक्रबार आयोगको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष मगरले आयोगले सिफारिस गरेका कार्यान्वयनमा निरन्तर प्रतिबद्धता जनाएपनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए। आयोगले सरकारलाई गरेको सिफारिस १५.३० प्रतिशत पूर्ण कार्यान्वयनमा आएको उनले बताए।

    मगरले २९.२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको अझै ४५ प्रतिशत सिफारिस रहेको बताए। पीडितलाई क्षतिपूर्तिका लागि आयोगले सिफारिस गरे अनुसार पर्याप्त बजेट निकासा नहुँदा र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन नसकेको उनले बताए।

    अध्यक्ष मगरले सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारसहित संसद्, नागरिक समाज लगायतका सरोकारवाला निकायहरु सबैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। आयोगका सिफारिसहरूलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने संवैधानिक र कानुनी दायित्व नेपाल सरकारको भएको उनले दाबी गरे।

    अध्यक्ष मगरले मानवअधिकारको प्रभावकारी कार्यान्वयनका लागि तीन तहकै सरकारले काम गर्न आवश्यक रहेको बताए। भ्रष्टाचार र अनियमितता जस्ता गतिविधि रोकी सीमान्तकृत र सबै नागरिकको हक अधिकार सुनिश्चित गर्ने सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने उनले बताए।

    अध्यक्ष मगरले संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याइनुपर्छ भन्नेमा आयोग दृढ रहेको बताए। १७ वर्षसम्म पनि द्वन्द्व पीडितले न्याय नपाउनु दुःखको विषय भएको उनले बताए।