जलविद्युत आयोजनाको सुरुङबाट चुहिएको पानी नरोकेपछि  रामेछापका स्थानीयले गरे कार्यालयमा तालाबन्दी - Chaitanya News
  • 2026-11-18
  • 03:29:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • जलविद्युत आयोजनाको सुरुङबाट चुहिएको पानी नरोकेपछि  रामेछापका स्थानीयले गरे कार्यालयमा तालाबन्दी

    जलविद्युत आयोजनाको सुरुङबाट चुहिएको पानी नरोकेपछि  रामेछापका स्थानीयले गरे कार्यालयमा तालाबन्दी

    रामेछाप — लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन्। स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन्।

    रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ। पानीको मात्रा बढ्ने क्रममा छ। पहराहरुबाट पानी झरेको छ। खोला र खोल्सी परेको स्थानमा खोला नै बगेको छ। ‘हामी निदाउन पाएका छैनौं सुरक्षित स्थानमा सारियोस्,’ स्थानीय विमला कार्की भन्छिन्, भोलि भोलि नभनियोस्। अहिले नै यसको समाधान चाहिएको छ।

    आयोजनाले परिक्षणका लागि सुरुङमा पानी हालेदेखि उक्त गाउँमा त्रास फैलिएको छ। जताततै मूल फुटेका छन्। यसअघि कहिल्यै पानी नदेखिएको स्थानमा पानीको खोला भएपछि गाउँलेहरुले बस्ती सार्नका लागि याचना गरिरहेका छन्। तर आयोजनाले स्थानीको माग सम्बोधन गर्ने सुरसार गरेको छैन।

    उक्त स्थानका सबैले अन्यत्र बसोवासको प्रबन्ध नगराएसम्म आयोजनाको काम अघि बढाउन नदिने अडान राख्दै आयोजनाको उत्पादन गृहमा तालाबन्दी गरेका छन्। आयोजनाले भने उक्त पानी सुरुङबाट चुहिएको नभएर मूल फुटेको जनाउँदै बस्ती अर्को स्थानमा सार्ने काम गर्न नसकिने संकेत गर्दै आएको छ। तर स्थानीयले भने पर्याप्त वर्षा नभएकाले मूल फुट्ने समय नभएको, पानी चुहिएर बगेको ठाउँमा यसअघि कहिल्यै मूल नफुटेको र पानीको मात्रा अस्वभाविक रुपमा बढेकोले आयोजनाको भनाइसँग सहमत छैनन्।

    उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सुरुङ चुहिएको स्थान अवलोकन गर्दा यसअघि कहिल्यै पनि पानी नभएको स्थानमा मूल फुटेको र हरेक दिन पानीको मात्रा बढ्दै गएकोले सुरुङबाटै पानी चुहिएको अनुमान गरेका छन्। विगतमा पानी पलाउने कुवा पँधेरा मात्र नभई पहराबाट पनि पानी झरेकोले स्थानीयको त्रास स्वभाविक रहेको सुनुवारले बताए। ‘पेकरनास क्षेत्रमा रुवावासी छ, स्थानीयको निन्द्रा हराएको छ,’ सुनुवारले भने,आयोजनाले टेरेको छैन।

    सुरुङमा पानी हालेपछि पेकरनास क्षेत्रमा अस्वभाविक रुपमा पानी देखिएपछि आयोजनाले विज्ञको टोली झिकाएको छ। विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका विज्ञसहितका प्राविधिकहरु मंगलबार अपराह्न प्रभावित क्षेत्रमा पुगेर काम थालेका छन्। ‘प्राविधिकहरुले पानी चुहिएको क्षेत्रको अध्ययन अवलोकन गर्ने काम गर्न थालेको र प्रभावित क्षेत्रको अवलोकनका आफैं पनि त्यस क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्।

    निरौलाका अनुसार पानी चुहिने क्रम बढेकाले केही परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने माग आएको छ। त्यसबाहेक विज्ञहरुले प्राविधिक रुपमा गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन दिनुपर्ने माग स्थानीले गरेका छन्,ु निरौलाले भनिन्, हाम्रो पनि प्रतिवेदन आओस् भन्ने चाहना छ। उनले समस्या समाधानका लागि स्थानीय बासिन्दा र आयोजनासँग छलफल गर्ने बताइन्।

    रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी दुगड समूहले निर्माण गरेको ५५ मेघावाटको उक्त आयोजना अन्तिम चरणमा छ। सुरुङमा पानी हालेर परिक्षण गर्ने काम भइरहेको आयोजनाका संचालक राजन खत्रीले भने।

    स्थानीय बासिन्दा ईश्वरी कार्की सुरुङभन्दा तल पर्ने गाउँमा कुनै पनि बेला सुरुङ फुटेर ध्वस्त बनाउने पो हो कि भन्ने त्रास फैलिएको बताउँछिन्। गाउँमा सबैको रुवावासी छ, आयोजना पक्ष टसमस भएको छैन,ु कार्की भन्छिन्, अहिले भित्रबाट सुरुङ टालेर पानी सुकाए पनि भोलिका दिनमा फेरि फुट्ला भन्ने पिरलो छ।