काठमाडौं– सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वउर्जामन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकारमध्येका एक रहेको दाबी गरेको छ।
सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको अभियोगपत्रमा नक्कली शरणार्थी प्रकरणमा रायमाझीको अनेक भूमिका देखिएको उल्लेख छ।
नक्कली शरणार्थीहरुलाई विदेश पठाउनकै लागि उनले शरणार्थी नेता टेकनाथ रिजाललाई भेटेर सहयोगको प्रस्ताव गरेको, योजना बनाएर बारम्बार मिटिङ र छलफल गरेको, बाबुछोराले रकम बुझेको, गृहमन्त्रालयभित्र यसै विषयमा भएको झैझगडा मिलाएको अनि गृहमन्त्रालयमा रहेको प्रतिवेदन साटफेरमा भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ।
रायमाझीमाथि गिरोह बनाएर नेपालीलाई नक्कली शरणार्थी बनाउन खोजेको र त्यसक्रममा शरणार्थी नेता रिजाललाई भेटेको आरोप छ। अभियोगपत्रमा भनिएको छ, ‘सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई रायमाझीको घरमा ल्याई भेट गराउँदा उनले भुटानी शरणार्थीहरुलाई अमेरिका पठाउँदा नेपालीहरुलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको र त्यस काममा सहयोग गरिदिन अनुरोध गरेको भन्ने टेकनाथ रिजालको बयानमा खुलेको‘।’
नेपालीलाई नक्कली शरणार्थी बनाउन सन्देश शर्मा, सानु भण्डारी र केशवप्रसाद दुलाल लगायतले ललितपुरको बखुण्डोलस्थित टंक गुरुङको रेष्टुरेन्टमा बारम्बार छलफल र मिटिङ गरेको भन्दै त्यसलाई पनि अपराधमा संलग्नताको आधार बनाइएको छ।
टोपबहादुरले सानु भण्डारीबाट एक करोड ६० लाख रुपैयाँ नगद बुझेको र छोरा सन्दीप रायमाझीले बैंकखातामा ४० लाख रुपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ।
रायमाझीले बयानका क्रममा गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईको कार्यकक्षमा सानु भण्डारी र केशव दुलालबीच लेनदेनको विषयमा भनाभन र हातपात हुँदा आफूले छुट्याएको बताएका थिए। प्रहरीले त्यो घटनालाई अपराधमा संलग्नता पुष्टि हुने आधारको रुपमा चित्रित गरेको छ।
अभियोगपत्रमा भनिएको छ, ‘ईन्द्रजित राईको कार्यकक्षमा विवाद भई हात हालाहालसम्म भएको हुँदा म समेत गई छुट्याएर तीन जनालाई कार्यकक्ष बाहिर लगेको। त्यति बेला इन्द्रजित राईले अबदेखि यिनीहरुलाई भित्र पस्न नदिनू भनी आदेश दिएको बयानमा स्वीकार गरेको।
प्रहरीले सानु भण्डारीको घरबाट डायरी बरामद गरेको थियो। डायरीमा टोपबहादुर रायमाझीसहित विभिन्न नेता र व्यक्तिहरुको नाममा दिएको रकमको विवरण खुलाइएको छ। रायमाझीलाई उनले ‘टोपबहादुर मामा’ भनी संकेत गरेका थिए।
प्रहरीले उनी योजनाकारमध्येका एक रहेको भन्दै पीडितबाट रकम उठाउन आरोपितहरुलाई परिचालन गर्ने र माथिल्लो तहमा चलखेल गरी काम अघि बढाउन खोजेको आरोप लगाएको छ।
गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन कार्यदल गठन गरेको थियो। त्यो प्रतिवेदनमा ४२९ जना छुट भुटानी शरणार्थी भनी नाम उल्लेख भएकोमा रायमाझी लगायतको समूहले नक्कली नाम थपेको आरोपपत्रमा उल्लेख छ।
गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेमार्फत पुरानो प्रतिवेदन बाहिर ल्याएर त्यसमा व्यहोराहरु थपी फेरबदलको काम गरेको आरोपसमेत उनीमाथि छ। उनीमाथि भुटानी शरणार्थीका नाममा संगठित अपराध, लिखत कीर्ते र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र लिखत कीर्तेको कसूर समेत गरेको आरोप छ।
अभियोगपत्रमा भनिएको छ, ‘टोपबहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पु¥याई ठगीको कसूर गरेको पुष्टि हुन आयो।