काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेका १६ जना र बाँकी फरार रहेका १४ जनागरी कुल ३० जनालाई प्रतिवादी कायमगरी बुधवार अबेर जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता लक्ष्मण उपाध्यायले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको छ।
उनीहरूविरुद्ध २७ करोड ८१ लाख विगोसहित मुद्दा दर्ता गरिएको उपाध्यायले बताए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले रकम असुल गरेका थिए।
प्रकरणमा जोडिएका पूर्वमन्त्री, प्रशासक र विचौलियागरी १६ जना पक्राउ छन् भने बाँकी फरार छन्।