काठमाडौं– ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तीन महिनापछि संसदमा उपस्थित भएका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भण्डारीले सम्बोधन गरेका छन्।
फागुन ४ गते आगलागीमा परेर घाइते भएका भण्डारी लामो समय भारतमा उपचार गरेर फर्केका थिए। भण्डारीले नेपालमा जलनसम्बन्धी एउटा अस्पताल बनाउन जरुरी रहेको बताए। क्यान्सर र मृगौला रोगीजस्तै जलनका घटनामा सरकारले आर्थिक सहयोग दिनुपर्ने भण्डारीको भनाइ छ।
ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनले बताए। सांसद भण्डारी मर्यादा पालकको सहयोगमा संसदको रोष्टममा पुगेका थिए। उनले कुर्सीमा बसेर सम्बोधन गरेका छन्।