काठमाडौं- आत्मविश्वासको बलियो उदाहरण बन्न पुगेका छन् हरि बुढामगर। आत्मविश्वासका साथ मानिसले कुनै कुरा चाहँदा त्यो असम्भव छैन भन्ने बलियो प्रमाण बनिदिएको छ उनको संघर्ष। दुई खुट्टा थिएनन्। ठुट्टे खुट्टाकै भरमा सगरमाथाको चुचुरोमा पुगेर उनले फहराए सफलताको झण्डा। र, उत्साहले चिच्याए भने- वी मेड इट।
विश्वकै सबैभन्दा उचो पर्वत सगरमाथाको टुप्पोमा उनको अपाङ्ग शरीरमात्र पुगेको थिएन। त्यो भन्दा बढी उनको मनभित्रको आत्मविश्वास र स्वाभिमान चुलिएको थियो। सगरमाथाको चुचुरोमा थचक्क बसेर हरिले तस्बिर कैद गरे। दुई कृत्रिम खुट्टा माथि उठाउँदै खुसी साटे। जुन कृत्रिम खुट्टाले उनलाई विश्व परिचित बनाइदिएको थियो। शारीरिक रूपमा दुवै खुट्टा नहुँदा पनि सगरमाथा विजय गर्न सकेको विश्वकीर्ति उनकै नाममा दर्ज भएको छ।
हातखुट्टा सद्दे रहेकाहरूलाई अनुकूल मौसममा समेत चढ्न हम्मे पर्ने सगरमाथा हरिले प्रतिकूल मौसमका बावजूद चढे। पूर्व बेलायती गोर्खा सैनिक उनको यही साहसको अहिले विश्वभरका सर्वसाधारण, सामाजिक अभियन्ता, नेता र प्रतिष्ठित व्यक्तिसम्मले प्रशंसा गरिरहेछन्।
विश्वविख्यात बेलायती अभिनेता टम हार्डीले आफ्नो इन्स्टाग्राम पेजमा बधाई, हरि बुढामगर। अविश्वसनीय भन्दै स्टाटस लेखेका छन्। रोल्पाको दुर्गम गाउँबाट संघर्ष गर्दै उनी बेलायती सेनामा भर्ती भएका थिए। त्यहाँ उनले भयानक दुर्घटनामा खुट्टा गुमाउनु पर्यो। तर, साहस गुमाएनन्।

हरिका दुवै घुँडामाथिका भाग छैनन्। कृत्रिम खुट्टाकै भरमा उनले सुरुमा प्याराग्लाइडिङ गरे। साना हिमाल चढे। अनि यसपालि सगरमाथा नै चढे।
रोल्पाको विकट गाउँ मिरुलमा जन्मिएका हरिको बाल्यकाल कहिले घर, कहिले लेकको गोठमा बित्यो। सानैदेखि सिस्ने र धौलागिरिका चुचुरा हेरेर हुर्किए। तिनका टुप्पामा पुग्न पाए कस्तो होला भन्ने खुल्दुली उति वेलैदेखि थियो। तर, आर्थिक अभावसँगै खेतीपातीको नियमित काममा खटिनुपर्ने र विद्यालय जानुपर्ने बाध्यताले तत्काल यो रहर पूरा भएन।
बरु गाउँले चलन अनुसार बाबुआमाले ११ वर्षकै उमेरमा विवाह गरिदिए। माओवादी द्वन्द्वको उद्गम थलो रोल्पामा यसको प्रभाव शुरू भइसकेको थियो। स्थानीय युवासामु दुई बाटा थिए, माओवादी लडाकू बन्ने वा सरकारी फौजमा भर्ती हुने।

हरिका बुबाले भने तेस्रो बाटो पहिल्याए। छोराले कम्तीमा विद्यालय स्तरको शिक्षा पूरा गरोस् भनेर सदरमुकाम लिवाङ पठाइदिए। त्यहाँ सेना र प्रहरीको पहरामै भए पनि पढाइ नियमित थियो। गाउँका विद्यालय त माओवादीले कब्जा गरिसकेका थिए।
लिवाङबाट एलएलसी दिएपछि १९ वर्षको उमेरमा हरि बेलायती सेनामा भर्ती भए। सयौं प्रतिस्पर्धीलाई उछिनेर यो जागीर पक्का गर्नु कम गौरवको कुरा थिएन। यसले परिवारमा अथाह खुशी ल्याइदियो। तर त्यो सुखी धेरै दिन टिक्न सकेन।
सन् २०१० अप्रिलमा हरि अफगानिस्तानको हेलमन्ड प्रान्तमा नियमित गस्तीमा थिए, बेलायती सेनाका तर्फबाट नेटो सैनिकलाई सघाउन। दिउँसो चार बजेतिर उनको टोली बम विस्फोटमा पर्यो। होश खुल्दा हरिले आफूलाई अस्पतालको शय्यामा पाए। उपचारका लागि तत्काल अमेरिकी सेनाको बेस रहेको इराक पुर्याइएको थियो। आफ्नो शरीर नियाले, दुवै खुट्टा काटिइसकेका थिए।
हरिका अनुसार विस्फोट यति ठूलो थियो कि धेरैले त बाँच्ने आश नै गरेका थिएनन्। तर, समयमै अस्पताल पुगेको र सोही अनुसार उपचार पाएकाले उनको ज्यान जोगियो। खुट्टा गुमाए पनि आत्मविश्वास नगुमाएका हरिले यतिबेला सबैको वाहवाही पाइरहेका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भेटेरै बधाई दिएका छन्।
