काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलमा सक्रिय त्रिभुवन विश्वविद्यालयका ४ सहप्राध्यापकमाथि कारबाहीका लागि छानबिन थालेको छ ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका ३ सहित जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका सहप्राध्यापकमाथि आयोगले छानबिन थालेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित दल, विश्वविद्यालय र कार्यरत क्याम्पसलाई स्पष्टीकरण सोधिएको जनाए ।
कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र समाजवादीका केन्द्रीय सदस्य उमाशंकर प्रसाद छानबिनमा तानिएका हुन् ।
स्पष्टीकरण पत्र पाएको ३ दिनभित्र जवाफ दिन पनि आयोगले निर्देशन दिएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उजुरी छानबिन गरी कारबाही थाल्न निर्देशन दिएको आयोगले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ मा स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न मिल्दैन । तर ठूला दलहरू कांग्रेस, एमाले, माओवादीनिकट प्राध्यापक शिक्षक नै केन्द्र र वडा तहसम्मको पार्टी कमिटीरसमितिमा आबद्ध र क्रियाशील हुँदै आएको पाइन्छ ।