साढे २ घण्टा संसद‍्मा पोखियो ओली आक्रोस - Chaitanya News
  • 2026-11-15
  • 23:17:03
  • आइतबार,कार्तिक ३०, २०८३
  • साढे २ घण्टा संसद‍्मा पोखियो ओली आक्रोस

    साढे २ घण्टा संसद‍्मा पोखियो ओली आक्रोस

    काठमाडौं- शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु भएको छ।

    बजेटमाथिको छलफल सुरु भएको दिन प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र समसामयिक विषयमा केन्द्रीत रहेर साढे २ घण्टा भन्दा लामो समय सम्बोधन गरे। ओलीले करिब २ घण्टा ४० मिनेट लामो सम्बोधन गर्दा सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना गरे। उनले नीति तथा कार्यक्रम यथार्थमा आधारित नभएको टिप्पणी गरे।

    ‘म सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्द छु। सरकार फिर्ता गर्न तयार नभए संसदले फेल गराउनु पर्छ,’ उनले भने। उनले नीति तथा कार्यक्रमको मात्र विरोध गरेनन् वर्तमान सरकार दुःखको कारक भएको समेत आरोप लगाए।

    ओलीले पार्टी संसदीय दलको शनिबारको बैठकमै सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्न निर्देशन दिएका थिए। सोही अनुसार उनले आइतबार आफ्नो सम्बोधनको सुरुमै सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको बताए।

    सर्वसाधारणले उपभोग गर्ने सामग्रीको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि भएको र निर्यात २६ प्रतिशतले घटेको उनको आरोप छ। आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत् तथा सञ्चार उपकरण, कृषि उपकरण, निर्यात गरिने कच्चा पदार्थका सामग्री अभाव हुन थालेको ओलीले बताए।

    तरलताको अभाव, उच्च ब्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबल लगायतका यथार्थहरूलाई संबोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको उनको गुनासो छ। नीति तथा कार्यक्रमले उच्च आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नसमेटेको बताउँदै उनले देश असामान्य अवस्थामा पुगेको यथार्थलाई सरकारले लुकाउन आरोप लगाए।

    सरकारले देशको परिस्थिति नै बुझ्न नसकेको उनको आरोप छ। जसले गर्दा सरकारप्रति जनताको अविश्वास निकै बढेको बताए। ओलीले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधि बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए।

    ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न योग्य नभएकाले कांग्रेसलाई समेत आफ्नो प्रस्तावमा समर्थन गर्न आग्रह गरेका छन्।

    बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्तो महत्त्वपूर्ण कार्यक्रम छुटाइएको भन्दै ओली आक्रोसित बनेका थिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम किन सुन्न नचाहेको भन्दै उनले प्रश्न गरेका थिए।

    ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि आफ्नो धारणा राखेका थिए। यसअघि ओलीले पार्टी केन्द्रीय समिति बैठकमा संसदबाटै यस विषयका केही रहस्य खोल्ने दाबी गरेका थिए। तर, उनले त्यस्तो केही रहस्य खोलेनन् बरु पार्टीलाई चोख्याउने प्रयास गरे।

    ओलीले सरकारले भुटानी शरणार्थी प्रकरणमा काम गरेँ भनेर जुँगामा ताउ लगाउनुपर्ने कारण नदेखेको बताए। ओलीले भुटानी शरणार्थी प्रकरण पहिलेदेखि नै आफू समाधान गर्न लागेकाले गृहमन्त्रीले उधुम हल्ला गर्न नहुने बताए। ओलीले नक्कली भुटानी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको बताए।