काठमाडौं- प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको ७ हजार ८८२ पदको लागि एक लाख बढीले आवेदन दिएका छन्।
शिक्षक सेवा आयोगले गत आयोगले चैत ९ गते विज्ञापन गरेको खुला प्रतिस्पर्धात्मक परीक्षाको लागि १ लाख १२ हजारको आवेदन परेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए।
आयोगले सामान्य तर्फको परीक्षा जेठ २० गते लिने तयारी गरेको छ। शिक्षक सेवा आयोगले मावि र निमावि तहको भने सामान्य तर्फको परीक्षा लिएर नतिजा सार्वजनिक गरिसकेको छ। आयोगको नतिजा अनुसार मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत र निमावि तहको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मावि तहको ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन्।
त्यस्तैगरी निमावि तहको १,१६७ शिक्षकका लागि गत वैशाख ९ गते लिएको सामान्य तर्फको परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले उत्तीर्ण गरेका छन्।