काठमाडौं- हिजोदेखि सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले बुधबार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । नयाँ भाडादर कायम भएसँगै अब लामो दूरीको यातायात भाडा पनि घटेको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले यातायात भाडा घटाएको हो ।विभागले नयाँ भाडादर कामय गर्दै अन्तरप्रदेशस्तरको भाडादर तालिका पनि सार्वजनिक गरेको छ । साथै अब यात्रुले देख्ने गरी सवारीसाधनमा भाडादरको तालिका टाँस्नुपर्नेछ र त्यसमा तोकिएको भाडा लिनुपर्नेछ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने ।
त्यसैगरि नयाँ भाडादर कायम गर्न अटेर गर्ने, यात्रुहरूलाई पुरानै दरमा भाडा असुल्ने र ठगी गर्नेमाथि विभाग र ट्राफिक प्रहरीले कारबाही पनि गर्ने भएको छ । विभागले नयाँ भाडादर मूल्य कायम गरेपछि यात्रुहरू ठगिन नदिन लामो दूरीका यातायातका साधनको छड्केसमेत गर्ने जनाएको छ ।
यसका लागि ट्राफिक प्रहरी र विभागमातहतका कार्यालयका कर्मचारी खटाइएको छ । त्यस्तै, कतिपय सवारीसाधनले यात्रुहरूबाट ठूलो नोट लिएर खुद्रा फिर्ता नदिएको जानकारी पाएमा पनि विभागले कारबाही गर्नेछ । त्यसका लागि यात्रुहरूले विभाग वा ट्राफिक प्रहरीलाई बस नम्बरसहित जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।
डिलक्स बसले जथाभावी भाडा लिन नपाउने
विभागले डिलक्स तथा एसी बसहरूले जथाभावी भाडा असुलेको भन्दै त्यसो गरेको पाइएमा कारबाही हुने जनाएको छ । सुविधासम्पन्न एसी तथा डिलक्स बसहरूले विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयबाट स्तर निरीक्षण गराई सवारी दर्ता किताबमा प्रमाणित गराएर १५ प्रतिशत बढी भाडा लिन पाउनेछन् । तर, उनीहरूले प्रमाणित नगराई यात्रुहरूलाई बढी भाडा असुल्न पाउने छैनन् ।
अनुसार यसरी दर्ता प्रमाणीकरण लिने सुविधासम्पन्न बसको संख्या निकै कम छ । विभागलाई चार्ज तिर्न नटेरी गरी डिलक्स तथा सुविधायुक्त बसहरूले यात्रुहरूबाट तोकिएभन्दा ३० प्रतिशत बढी भाडा असुल्ने गरेका छन् । कतिपय बस तथा माइक्रोले पुरानै सवारी मोडिफाई गरी बढी भाडा असुल्ने गरेका छन् । यसरी भाडा असुल्नेलाई विभागले कारबाही गर्ने जनाएको छ । विभागले विभागले तोकेअनुसार यातायातका साधनले सहुलियत नदिएको पाइएमा कारबाहीसमेत गर्नेछ ।