काठमाडौं- बाराको सिम्रौनगढ नगरपालिकामा हुँदै नभएको कामको भुक्तानी गरिएको पाइएको छ।
नगरपालिकाले विनियोजन गरेको बजेटलाई आफूखसी प्रयोग गरेर हुँदै नभएको कामको भुक्तानी गरिएको पाइएको हो।
सडक निर्माणका लागि विनियोजन भएको बजेटको दुरूपयोग गरी हुँदै नभएको कामको नापी किताब र बिलसमेत तयार पारेर भ्रष्टाचार भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
नगरपालिकाको बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल निर्माण गर्दा सम्झौता पालना नगरी, नभएको कामको नक्कली कार्यसम्पादन प्रतिवेदन बुझाएको आयोगले जनाएको छ।
नक्कली कार्यसम्पादन प्रतिवेदन तयार पारेर १० लाख ८ हजार ९६५ रूपैयाँभन्दा बढी भुक्तानी भएको अख्तियारले ठहर गरेको छ।
यसबारे मधेस प्रदेसको संसदीय समितिले अनुमगन गरी प्रतिवेदन पेस गरेको थियो।
प्रतिवेदन उजुरीमाथि अनुसन्धान हुँदा यसमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाको संलग्नता भेटिएको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजितकुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेक कुमार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव बैद्यनाथप्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवको संलग्नतामा यस्तो काम भएको अख्तियारले जनाएको छ।
उनीहरूविरूद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कानुनलाई २ लाख ८४ हजार ८३२ र अन्य प्रतिवादीलाई १० लाख ८ हजार ९६५ रूपैयाँ बिगो मागदाबी गरेको छ।