कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान - Chaitanya News
  • 2026-11-16
  • 02:05:24
  • आइतबार,कार्तिक ३०, २०८३
  • कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

    कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

    काठमाडौँ –  कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज (बुधबार) बिहान साढे ८ बजे सगरमाथाको २७ औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

    विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६ औं पटक आरोहण गरेका थिए ।

    २ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

    कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् ।

    पासाङ दावा पनि भनिने उनी २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए ।