काठमाडौं- यात्री मोटरसाइकलको दर्ता सुरू भएको छ। आयातको क्रममा प्राप्त हुने प्रतितपत्र देखाउन नसकेका कारण लामो समयदेखि दर्ता हुन नसकेको यात्री मोटरसाइकल दर्ता भएको हो।
नेपालमै उत्पादित सवारी साधनहरूको दर्ता प्रक्रियामा रहेको अन्योलको कारण यात्री मोटरसाइकलको दर्ता हुन सकेको थिएन।
सन् २०२२ देखि व्यावसायिक रूपमा उत्पादन थालेको ‘यात्री मोटरसाइकल’ ले दर्ता नपाउँदा केही महिना अघि उत्पादन नै बन्द गरेको थियो।
संघीय सरकारबाट यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरेको छ।
यसमा संशोधन भएसँगै यात्रीबाट उत्पादित मोटरसाइकलको दर्ता सम्भव भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता भएका हुन्।
नेपालमा उत्पादित सवारीसाधनले सबै कागजात पूरा गर्न सके पनि भन्सार प्रज्ञापनपत्र नहुँदा दर्ता प्रक्रियामा समस्या थियो। प्रज्ञापनपत्रमै सवारी पहिचान नम्बर (भिआइएन) उल्लेख हुन्छ।
आयात हुने सवारीमा विदेशी उत्पादकले जारी गरेका भिआइएन नम्बरको अभिलेखीकरण गर्न समस्या छैन। यात्रीले भने आफैँले भिआइएन नम्बर जारी गर्छ।