गृहमन्त्री भन्छन्- सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान हुन्छ - Chaitanya News
  • 2026-07-06
  • 05:07:28
  • आइतबार,आषाढ २१, २०८३
  • गृहमन्त्री भन्छन्- सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान हुन्छ

    गृहमन्त्री भन्छन्- सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान हुन्छ

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

    सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने गरिरहेको बताउँदै भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने जनाए।

    नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै उनले यस प्रकरणमा मात्रै नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने दाबी गरे। नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ।

    निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए। श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले अनुसन्धानले पुष्टि गरेको आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए।