काठमाडौं- सांसदहरुले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी आर्थिक घोटाला गर्ने कार्यमा संलग्नलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद हितराज पाण्डेलले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयले देश तातेको र सरकारले दृढताका साथ यो विषयलाई अगाडि बढाएकोप्रति जनतामा आशा जागेको भन्दै दोषीलाई कारबाही गरेर जनताको आशालाई विश्वासमा परिणत गर्न सरकार समक्ष माग गरे । उनले हेटौँडा, गोरखकाली उद्योगलगायतलाई सञ्चालनका लागि बजेटमा व्यवस्था गर्न पनि माग गरे ।
सांसद डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । उनले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौँ आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सांसद ज्ञानु बस्नेत सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उचित छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिन् । उनले भ्रष्टाचारलाई निर्मूल गर्न आम नेपालीको एकता चाहिने भन्दै विगतका भ्रष्टाचारको पनि छानबिन गरिनुपर्ने बताइन् ।
सांसद सुनिता बरालले भ्रष्टाचारले राजनीति क्षेत्रमा पनि वितृष्णा पैदा गरेको भन्दै भ्रष्टाचारसम्बन्धी विद्यमान कानुन संशोधन गरी दोषीलाई उम्कने वातावरण नबनाउन माग गरिन् ।
सांसद सूर्यप्रसाद ढकालले समाजका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै वि.सं. २०५८ देखि हालसम्मका सबै क्षेत्रका उच्चतहका अधिकारीमाथि छानबिन गर्न उच्च उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरे । सांसद सोनु मुर्मुले भ्रष्टाचार र अनियमितताले देशको बदनाम भइरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे ।
सांसद बिजुला रायामाझीले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले शिक्षा क्षेत्रका सबैखाले समस्याको समाधान खोज्न नीतिगत सुधार गरिनुपर्ने बताइन् ।
सांसद विद्या भट्टराईले गाईभैँसीमा देखिएको लम्पी स्किनका कारण पशुहरु मरिरहेको र यस घटनाले किसानलाई चिन्तित बनाएको भन्दै सङ्क्रमण रोकथाम तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले पोखरा हङ्कङ बजारका साना व्यवसायीलाई राहत उपलब्ध गराउन माग गरिन् ।
सांसद विनिताकुमारी सिंहले देशमा रहेको बेरोजगारी समस्या समाधान गर्न सबै स्थानीय तहमा ग्राम उद्योग र दक्षजनशक्तिका लागि तालिम केन्द्र स्थापना गर्न माग गर्दै त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरिन् ।
सांसद वीरबहादुर बलायारले देशको छवटै राजधानी बन्दै गर्दा अहिलेसम्म सुदूरपश्चिम प्रदेशको राजधानी किन बनेन र अहिलेसम्म केन्द्रीय सरकारले किन भोगाधिकार दिँदैन भनी प्रश्न गरे । उनले सुदूरपश्चिममा गेटा मेडिकल कलेजलाई चाँडो मेडिकल कलेजका रुपमा सञ्चालन गर्न माग गरे ।
भूकम्पीडितलाई राज्यले राहत उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । सांसद विराजभक्त श्रेष्ठले वर्षात शुरु भएको र डेङ्गुको सङ्क्रमणको खतरा बढेको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराए ।