नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएकाे छ : महासचिव पोखरेल - Chaitanya News
  • 2026-07-06
  • 03:41:15
  • आइतबार,आषाढ २१, २०८३
  • नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएकाे छ : महासचिव पोखरेल

    नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएकाे छ : महासचिव पोखरेल

    काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दावी गरेका छन् । अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै उनले भविष्यको योजनासहित काम गर्ने पार्टीहरु कहिल्लै पुराना नहुने टिप्पणी गरेका छन् ।

    आज (आइतबार) बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले समाजवाद एमालेको लक्ष्य रहेको र जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको बाटो रहेको उल्लेख गरेका छन् । मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने बताउँदै उनले यो निरन्तर गतिशिल प्रवाहमा अघि बढ्ने गरेको बताए ।

    नेता पोखरेलले तत्कालीन समयमा माओवादी केन्द्रसँगको पार्टी एकतासंगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसकेको, संगठनात्मक अराजकता बढेको र परिणाम स्वरुप यसको गति केही कमजोर बनेको स्मरण गराएका छन् । ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता बढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो’ महासचिव पोखरेलले भनेका छन् ।

    उनले पार्टीको मिसन ग्रासरुट अभियानले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको तथा एकीकृत शक्ति निर्माणको जग तयार पारेको बताएका छन् ।

    ‘नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ’, महासचिव पाखरेलले भनेका छन्, ‘नेकपा (एमाले) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ । आउनुहोस् मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्पसहित नयाँ यात्राको थालनी गरौ ।’