तीन दिन चलेको एमाले बैठकले के निर्णय गर्‍यो? - Chaitanya News
  • 2026-07-06
  • 03:41:23
  • आइतबार,आषाढ २१, २०८३
  • तीन दिन चलेको एमाले बैठकले के निर्णय गर्‍यो?

    तीन दिन चलेको एमाले बैठकले के निर्णय गर्‍यो?

    काठमाडौं- तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो।

    एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ। पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए।

    केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए। कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए।

    पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ।

    यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने एमालेको भनाइ छ।

    एमाले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने भएको छ। यसअघि एमालेले २०७३ फागुनमा मेची-महाकाली अभियान चलाएको थियो। त्यस्तै एमालेले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने लक्ष्य लिएको छ।

    एमालेले २०८० साललाई अधिवेशनको वर्ष बनाउने पनि निर्णय गरेको छ। एमालेका ८ लाख पार्टी सदस्यमध्ये आधा मात्रै नवीकरण भएको प्रतिवेदन आएको छ। आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न बैठकले निर्देशन दिएको उपमहासचिव गुरूङले जानकारी दिए।