पोखरा- नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी मोहन आचार्यले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत २५ वर्षदेखि आवद्ध भएको कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन्। उनी कांग्रेस १४औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका थिए।
‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका माध्यमबाट जोडिने सोचमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। आचार्य नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए।
पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यको प्रतिक्रिया छ।
यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्याशी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकैपटक पार्टी परित्याग गरेका थिए। जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए। उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन्।