जेठ ४ गतेसम्म तथ्य खोल्छु
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् ।
ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुन:स्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।
‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन, थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपार्इं प्रयास गर्नुस् भन्नुभयो,’ उनले भने ।
त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । तत्कालीन अमेरकी राष्ट्रपति जर्ज डब्लु बुशले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीले बताए ।
ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन्।बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताए।
उनले थपे, ‘रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो । मैले भनेँ- हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्यो भनेर उभिएरै प्रस्ताव राखेँ । उहाँले कोन्डालिजा राईससँग कुरा हुँदैछ क्यारे, उहाँसँगै डिटेलमा कुरा गर्नुस भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डिसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला ।’
ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए ।
‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ ।