काठमाडौं- मौनता साध्दा अब त अत्ति भयो भन्दै आइतबार कांग्रेस महामन्त्रीले गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेखे। त्यसपछि उनको स्टाटसमा थुप्रैले विभिन्न खाले कमेन्ट गर्दै टिकाटिप्पणी गरिरहेका छन्। यहीबीचमा महामन्त्री गगन र विश्वप्रकास शर्माले पार्टीमा विद्रोह आवश्यक रहेको बताउँदै आएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन-विश्वले निर्वाचन जित्दै गर्दा धेरैलाई कांग्रेसमा थुप्रै कुराको परिवर्तन हुने अपेक्षा थियो। लामो समय वित्दा पनि जनता र कार्यकर्ताको त्यो अपेक्षा अपेक्षामै सिमित हुन पुगेको छ।
उनीहरू सभापति शेरबहादुर देउवाको पिल्साइमा पिल्सिरहेका छन्। र, पार्टी नेतृत्त्वविरुद्ध संघर्षको गृहकार्यमा छन्।
नेतृत्वविरुद्ध संघर्ष गर्ने जानकारी महामन्त्रीद्वयले सभापति देउवाकै निवासमा राखेको पदाधिकारी बैठकमा गराइसकेका छन्। औपचारिक रूपमा उनीहरूले संघर्षको रणनीति र घोषणा गर्न बाँकी छ।
उनीहरू यतिबेला संघर्षका कार्यक्रमको तयारी गरिरहेका छन्। तीन दिनअघि नै सभापति देउवाको निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकमा थापाले सभापति देउवालाई भनेका थिए, ‘तपाईँले हामीलाई जति सक्नुहुन्थ्यो गर्नुभयो। तपाईँका सारा गलत कामका भारी हामीले बोक्नुपर्ने, पार्टी अप्ठेरोमा परे हामीले काँध थाप्नुपर्ने, पार्टीले पाउने अवसरमा, पार्टीका महत्वपूर्ण निर्णय हामीले मिडियाबाट थाहा पाउनुपर्ने। तपाईँले सक्ने गर्नुभयो। अब जे सक्नुहुन्छ हामीविरुद्ध गर्दै रहनुहोला। अब तपाईँको बाटो अलग हाम्रो बाटो अलग हुन्छ।’
बैठकमा अर्का महामन्त्री विश्वप्रकाशले सभापति देउवा आफू नसुध्रिने र सुधारका लागि दिइएका सुझावसमेत स्वीकार नगर्ने भएकाले राजीनामा दिएर कार्यकर्तामा जाने चेतावनीसम्म दिए।
देउवालाई राजीनामा र संघर्षको धम्की दिएका महामन्त्रीद्वयले संघर्षदेखि विद्रोहसम्मको रणनीति बनाइरहँदा नेतृत्व अझैँ पनि उनीहरूका कुरा सुन्ने पक्षमा छैन।
१४औं महाधिवेशन अघि युवा नेताका रुपमा रहेका गगनले पार्टी रुपान्तरण र राजनीतिक रुपान्तरणलाई प्रमुख ऐजेण्डा बनाएका थिए। विश्वप्रकाशले उत्साह, एकता र रुपान्तरणको नारा लगाउँदै आएका थिए। तर, महामन्त्रीमा निर्वाचित हुँदा पनि दुवै महामन्त्रीको आवाज पार्टीमा नसुन्ने अवस्थामा छ।
आफूहरूको आवाज दवित भएपछि महामन्त्री द्वोय विद्रोहको मुडमा पुगेको उनी निकट स्रोतले जनाएको छ। सिन्डिकेट जोगाएर देउवानै सभापतिमा निर्वाचित हुनु र १३औं महाधिवेशनपछिकै व्यवहार देउवाले १४औं महाधिवेशनमा पनि दोहोर्याउनुले यो अवस्था सिर्जना भएको उनीहरूको बुझाइ छ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने आवाजलाई पनि बहुमतको बलमा दबाएको महामन्त्रीहरूको गुनासो छ। केन्द्रीय समितिले गठबन्धन गर्नु हुँदैन, आवश्यक परे सम्बन्धित जिल्ला र स्थानीय तहले गठबन्धन गर्ने सहमति गरेको थियो। तर, नेतृत्व त्यसको खिलापमा गयो।
आफूले गलत गर्ने र दोष लगाउन महामन्त्रीको टाउको खोज्ने नेतृत्वको प्रवृत्ति सहन गर्न सकिने निष्कर्श उनीहरूको रहेको छ। उनीहरूले नेतृत्वका कारण पार्टीभित्रको राजनीतिमा किनाराकृत हुनुपरेको दुखेसो गरेका छन्।