काठमाडौं- सोमबार बिहान ११ बजेदेखि सदन चलिरहेको थियो। सोही सभामा थिए स्वतन्त्र सांसद अमरेशकुमार सिंह। उनले संसद चल्दै गर्दा आफूले बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग समय माग गरिरहेका थिए। तर, सभामुखले सांसदहरूलाई बस्न आग्रह गरिरहेका थिए।
त्यहीबीचमा एकाएक सांसद सिंहले आफूलाई सभामुखले बोल्न नदिएको भन्दै शरीरको माथिल्लो भागका लुगा फुकाल्न थाले। हेर्दाहेर्दै उनी अर्धवस्त्र भए। सिंहले आफूले पटक/पटक सभामुखसँग समय माग्दा पनि समय नपाएपछि बाध्य भएर लुगा फुकालेर विरोध गर्नुपरेको जनाएका छन्।
‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको हुँ,’ उनले भने। जनताको आवाज उठाउन नदिएपछि आफूसँग अरू विकल्प नभएको उनको दाबी छ।
सांसद सिंहले शरीरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका थिए।
हुन न नेपालका नेताका लागि यो नौलो कुरा होइन। कहिले संसदभित्र कुर्सी तोडफोड गर्न सांसदहरू पछि पर्दैनन् त कहिले अर्घनग्न भएर तमासा देखाउन पछि पर्दैनन्। उनीहरूको बोलिको समेत तुक हुँदैन। आज एउटा कुरा बोल्दा अर्को दिन बोलि फेरिसकेको हुन्छ।
अहिले संसदमा प्रिबजेट बारे छलफल भइरहेको छ। जसले गर्दा आकस्मिक समय नराख्ने पहिल्यै तय भएको थियो। सांसद सिंहले आकस्मिक समय माग्दा सभामुख घिमिरेले नदिएपछि उनले लुगा फुकालेका थिए।
यसअघि अमरेश कांग्रेसबाट सांसद बनेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवासँगको खटपटनपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे। उनी आफूलाई चर्चामा राख्न विभिन्न प्रोपोकाण्डा गर्ने पात्रमा पर्छन्।
उनी अस्थीर नेताका रूपमा पनि चित्रित छन्। स्थिर भएको भए वा उनले यसअघि नैतिकता देखाएको भए उनी नांगिँदा ठूलो अर्थ दाग्थ्यो होला।
आफ्नो अधिकार वा आवाज हनन् हुँदा विश्वका अन्य देशमा पनि सांसदहरूले यस्तो खाले विरोधको विधि अपनाउँछन्। त्यहाँ यसको ठूलो अर्थ लाग्छ। तर, आकस्मिक समय नराख्ने पहिल्यै तय भएको सदनमा अमरेश नंगिनुको कुनै तुक छैन। यसले उनीमात्रै नंगिएको प्रस्ट हुन्छ।