गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत - Chaitanya News
  • 2026-07-05
  • 23:04:40
  • आइतबार,आषाढ २१, २०८३
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव पेस गरेकोमा ३५ मत प्राप्त गरेका हुन्।

    कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसदको गरी उनले ३५ मत प्राप्त गरेका छन्। यस्तै, उनको विपक्षमा एमालेको २२ र तटस्थ राप्रपाको २ मत रहेको छ। संसद्‍मा ५९ जना सांसदको उपस्थिति रहेको थियो।

    सभामुख कृष्णप्रसाद धितालले पाण्डेले बहुमतले विश्वासको मत प्राप्त गरेको बताए। पाण्डे माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका पाण्डेले उपधारा ४ बमोजिम विश्वासको मत लिएका हुन्। सरकारलाई बहुमत प्राप्त गर्नको लागि ३१ सिट आवश्यक पर्दछ। पाण्डेले विश्वासको मत लिएपछि गण्डकीमा मन्त्रिपरिषद् विस्तार गरिने सचिवालयले जनाएको छ।

    पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। सत्तारुढ दलबीच मन्त्रालयको भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको स्रोतले जनाएको छ। सत्ता गठबन्धनको केन्द्रीय बैठकले नै मन्त्रालयको टुंगो लगाउने दलहरूले जनाएका छन्।