काठमाडौं- नेपाल प्रहरीले फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सभामुख देवराज घिमिरेको सहयोग मागेको छ ।
नेकपा (एमाले) का सांसद कोइरी फरार रहेको भन्दै पक्राउका लागि प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई पत्र पठाएको हो ।
प्रतिनिधि सभा नियमावली २०७९ अनुसार कोइरी फरार रहको र उनलाई निलम्बन गर्नुपर्ने माग प्रहरीले राखेको हो । यसअघि पनि प्रहरीले संसदलाई सांसद कोइरी फरार रहेको जानकारी गराएको थियो ।
गत शुक्रबार प्रतिनिधिसभाको बैठकमा कोइरीको अनुपस्थितिको सूचना प्रस्तुत भएर पनि फिर्ता भएको थियो ।
सुरुमा सभामुख घिमिरेले कोइरी अस्वस्थ रहेको सूचना प्रस्तुत गरेपछि सांसदहरुले विरोध गरेका थिए । त्यसपछि कोइरीको अनुपस्थितिको सूचना हटाएर अरु सांसदको अनुपस्थितिको सूचना मात्रै प्रस्तुत गरिएको थियो ।
यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो । प्रहरीले पठाएको पत्र सभामुख घिमिरेले अध्ययन गरिरहेका संसद सचिवालयले जानकारी दिएको छ ।