काठमाडौँ — सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ। दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिएका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो।
छलफलपछि पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए। अहिले हामीले बसेर कसरी अगाडि जाने भनेर निर्णय गरको छौं। आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ। आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ, पुनले भने, छलफल एकदमै सकारात्मक छ। हामीले रक्षामन्त्रीसँग वार्ता गर्दागर्दै दुई पटक प्रधानमन्त्रीले फोन गर्नुभयो। अहिलेसम्म सकारात्मक छ। भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना सुरु गरेका थिए।
पुनले सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना दिने घोषणा गरेका थिए। सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने उनले बताएका थिए। आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन्।