काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रविलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।
शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री किरातीले जनताले रविलाई लोकप्रिय मत दिएकाले पनि उनलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन्।
‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको मतको सम्मान गर्न पनि रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ उनले भने।
रविलाई रोजेको मन्त्रालय दिन आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको किराँतीले बताए।
वैशाख १० मा भएको उपनिर्वाचनमा दोस्रोपटक सानदार मतसहित निर्वाचित भएका रविले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बलियो भएको बताएका थिए।