काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
‘यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्र बुद्धशान्ति गाउँपालिकामा पर्दछ। त्यो गाउँपालिका–५ स्थित खारखोला अहिले शोकमा छ। करिब ७० वर्षका भिमलाल भट्टराई हात्तीको आक्रमणमा मारिनु भएको छ। केही समययता त्यो गाउँमा हात्ती आतंक मच्चिरहेको छ। यो वर्ष त्यो वडामा ३ जना मारिएका छन। गत वर्ष १७ वर्षका युवा हात्ती धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो,’ सांसद शर्माले भने, ‘करिब ६ महिनाअघि मंगलबारे बजार सम्झना श्रेष्ठको पनि हात्तीको आक्रमणबाट ज्यान गयो। बेहुलाबेहुली नै हात्तीको आक्रमणमा परेर ज्यान पनि गएको छ। यो कुरा मैले यसकारण उठाएको हुँ। ताजा घटना हो यो। यही बेला सरकार आगामी वर्षको बजेट निर्माणको क्रममा छ। हामी कहाँ हात्तीको समस्या दुई खालको छ। त्यहाँको प्रतिनिधिको नाताले म यो विषयलाई राज्यको विशेष प्राथमिकतामा राख्नका लागि, दर्जनौँको मृत्यु भएपछि राज्यको आँखा खुल्नका लागि विनम्र आग्रह गर्न चाहन्छु।’
महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न सरकारसँग माग गरे।