बुटवल — लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्। ८ दलको समर्थन प्राप्त चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ।
यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो। चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३–३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १–१ जनासहित ५३ जनाको समर्थन छ। माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन्।
चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुन्। यसअघि पनि निर्वाचित उनी अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका थिए। झन्डै डेढ वर्ष प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री पनि भए। चौधरी संघीय सरकारको श्रम राज्यमन्त्री पनि भएका थिए।
दाङको कमैयामुक्त आन्दोलनका अगुवा रहेका चौधरी विभिन्न गैरसरकारी संघ संस्थाहरुमा पनि नेतृत्व गर्दै सामाजिक अभियन्ताको पहिचान बनाएका व्यक्ति हुन्। प्रधानमन्त्री देउवानिकट उनी २०६४ देखि निरन्तर महासमिति सदस्य छन्।
१७ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय चौधरीले थारु समुदायसहित अन्य अल्पसंख्यक गरिबीको रेखामुनि रहेका नागरिकलाई शिक्षाका लागि पनि अभियान चलाएका थिए। चौधरीकै नेतृत्वमा २०७५ सालमा कमैया आन्दोलन सुरु भएको थियो। राजनीतिक परिवर्तन, पिछडिएका समुदायको सशक्तिकरणमा लागेका चौधरीलाई तत्कालीन पञ्चायत सरकारले देशद्रोहीको आरोपमा प्रहरी हिरासतमा पनि राखेको थियो। चौधरीले सामाजिक विकासमा स्नातकसम्मको अध्ययन गरेका छन्।