चितवन– वैशाख १० को उपनिर्वाचनमा चितवन–२ मा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो राजनीतिक यात्रा नरोकिने बताएका छन्। कांग्रेस चितवनको पार्टी कार्यालयमा उपस्थित पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू सामाजिक यात्रामा हिँडेको मान्छे रहेकाले चुनावमा हारेर भाग्ने मान्छे नरहेको बताएका हुन्।
चुनावमा हारे पनि म जिल्लाका सबै समस्याहरू बोकेर सिंहदरबारदेखि बागमती प्रदेशसम्म आफैँ पुग्नेछु। मेरो हारको गम्भीर समीक्षा हुन्छ उनले भने, जीतनारायण हार्यो अब आउँदैन कतै आउँदैन भन्ने होइन वडावडामा जनताको समस्या बुझ्न आउनेछु।
अप्ठ्यारोमा भाग्ने मान्छे कायर रहेको भन्दै उनले आफू डटेर जनताको सेवामा लाग्ने बताएर श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए। लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत मात्रै ल्याएका थिए।