प्रधानमन्त्री दाहालले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो : राजन भट्टराई - Chaitanya News
  • 2026-07-04
  • 21:05:01
  • शनिबार,आषाढ २०, २०८३
  • प्रधानमन्त्री दाहालले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो : राजन भट्टराई

    प्रधानमन्त्री दाहालले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो : राजन भट्टराई

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

    बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो। गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

    मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ? भन्ने स्पष्ट पारेको बताए। गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको पनि बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेलाई प्रोत्साहित गरेको आरोप लगाए। प्रदेश नामाकरण कानुनी रुपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरे।

    नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या ८ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए। वर्तमान एकपछि अर्को असफलतामा गुज्रिरहेको बताउँदै वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए।