काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणका प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोशी प्रदेश नामाकरण विरोधीहरुले ओलीमाथि आक्रमणका प्रयास गरेको र एक जानालाई प्रहरीले नियन्त्रणमा लिएकोसमेत बताए।
‘नेपाली राजनीतिका एकजना शीर्षस्थ नेता नेकपा ९एमाले० का अध्यक्ष, संसदीय दलका नेता पूर्वप्रधानमन्त्री माननीय केपी शर्मा ओली आफ्ना केही सहयागीहरुसहित पार्टीको ग्रासरुट अभियानको शिलशिलामा झापामा जानुभएको थियो। झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रममा थियो। त्यो कार्यक्रममा जाने क्रममा उहाँलाई कोशी नामाकरणमा विरोध राख्ने समूहको तर्फबाट कालो झण्डा प्रदर्शन गर्ने र केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयास स्वरुप ढुंगामुडाको दुःखद् घटना भएको छ। त्यसप्रति नेपाल सरकारको तर्फबाट म दुःख व्यक्त गर्दै यो घटनाको निन्दा गर्न चाहन्छु,’– गृहमन्त्री श्रेष्ठले भने।