राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम - Chaitanya News
  • 2026-07-04
  • 23:18:55
  • शनिबार,आषाढ २०, २०८३
  • राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

    राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

    काठमाडौं– राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम दिएको छ। राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो।

    समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए।

    बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको हो। शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।

    नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था गरेको छ।

    त्यसका लागि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ। जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहनेछन्। दलीय सहमति नहुँदा प्रतिनिधिसभाले भने सुनुवाइ समितिमा नाम पठाउन सकेको छैन।