राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन डा.विमला राईको माग - Chaitanya News
  • 2026-07-04
  • 23:19:05
  • शनिबार,आषाढ २०, २०८३
  • राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन डा.विमला राईको माग

    राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन डा.विमला राईको माग

    काठमाडौँ– राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेकी छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै राईले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताएकी हुन्।

    उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ। बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई रु नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो? अनि उहाँको सुधार कस्तो भइराखेको छ? यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ। वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ। हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ। कुन–कुन रोगको नेपालमा उपचार हुँदैन? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ। यसमा ध्यानाकर्षण गराएँ।’

    त्यस्तै, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिन्।

    राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले दुर्गम क्षेत्रका विद्यार्थीले शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपाइरहेका भन्दै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारसँग माग गरिन्।