बारा– जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थलमा पुगेका अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए।
‘अहिले गणना भइरहेको छ। प्रतिक्रिया दिने बेला भएको छैन। प्रारम्भिक नतिजा राम्रो छ। म खुशी छु बाराका जनताले मलाई आशिर्वाद दिएका छन्’, उनले भने,।
अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए। उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन नि
मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन्।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन्।
यसअघि अध्यक्ष यादव मंसिर ४ मा सम्पन्न चुनावमा सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। त्यसपछि उनले पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएसँगै रिक्त रहेको स्थानमा उपनिर्वाचन लडेका हुन्।