महोत्तरी — महोत्तरीको गौशालामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। गौशला नगरपालिका ४ मल्हनीया पोखरी गाउँमा भएको झपडमा पाँच सुरक्षाकर्मीसहित ११ जना घाइते भएका छन्।
गत शुक्रबार राति विष सेवनबाट मृत्यु भएको भनिएकी मलहनियाकी २५ वर्षीया आरती देवीको मृत्यु विष सेवनबाट नभई श्रीमान्, सासु र नन्दले यातनाका कारण भएको आरोप लगाउँदै आरतीको माइतीपक्ष र स्थानीयले आन्दोलन सुरु गरेका थिए।
सोमबार बिहानबाटै गौशालामा प्रदर्शनमा निस्किएका प्रदर्शनकारीको आन्दोलनले उग्र रुप लिएपछि र हत्या आरोपित उमेश साहको घरमा तोडफोड गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको महोत्तरी प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्रले ४ राउन्ड हवाई फायर गरेका छन्। प्रहरीले १३ राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ। आन्दोलनमा सहभागी ६ जना स्थानीयसमेत घाइते भएको स्थानीय निरन्जन साहले बताए। अहिले मलहनियाको स्थिति शान्त बनाउन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक राईले जानकारी दिए।