काठमाडौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई आफैंले अघि बढाएको बताएका छन्।
अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनको रक्षा र विकास गर्न आफूले भूमिका खेलेको समेत बताए।
यसअघि कार्यक्रममा शर्माले पार्टीलाई अफ्ठ्यारो परेको बेलामा सधैं नेतृत्वको पक्षमा उभिएको बताएका थिए।
‘जनार्दनजीले जाँदा जाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो, म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने, ‘उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु। मेरो लागि धेरै चीज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु।’
उनले माओवादीको क्रान्तिकारी विरासत जोगाउने हजारौं, लाखौं उत्तराधिकारी तयार हुन् भनेर आफूले चाहेको समेत बताए।
आफूहरू निर्वाचन प्रणालीको र सासकीय प्रणालीमा सुधार गरेर समाजवादको यात्रा तय गर्ने अभियानमा रहेको खुलाए। अहिलेको विकृतलाई सच्याउन यो कुरा जरूरी रहेको उनको तर्क छ।