संघीय निजामती ऐन आउनेमा आशंका - Chaitanya News
  • 2026-07-05
  • 09:09:13
  • आइतबार,आषाढ २१, २०८३
  • संघीय निजामती ऐन आउनेमा आशंका

    संघीय निजामती ऐन आउनेमा आशंका

    काठमाडौं- संघीय निजामती ऐन ल्याउने प्रक्रिया अघि बढाइए पनि बेला-बेला ऐन आउने कुरामा आशंका पैदा हुने गरेको छ। मुलुक संघीयता गएको सात वर्षपछि प्रशासन कानुनको अन्तिम गृहकार्य अघि बढाइएको भए पनि ऐन आउनेमा शंका पैदा हुने गरेको हो।

    प्रस्तावित विधेयकमा ११ वटा सेवा समूह रहने, श्रेणीको साटो तहगत, १५औं तहसम्म रहने,सरुवामा चक्रीय प्रणाली,उमेरहद ६० वर्ष बनाउने,कर्मचारीहरुलाई राजनीतिक क्रियाकलापमा संलग्न हुनबाट रोक लगाउने लगायतका प्रावधान समावेश गरिएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतीका लागि भन्दै कानुन र अर्थमन्त्रालयमा पठाएको छ। तर, विद्येयकका कतिपय प्रावधान तल्ला तहका कर्मचारीमारा रहेको भन्दै मुलुकभरका कर्मचारी आन्दोलित छन्। राष्ट्रिय स्तरका पाँचवटै ट्रेड युनियनमात्र होइन उपसचिवभन्दा तल्ला तहका कर्मचारी नै आन्दोलित बन्न पुगेका छन्।

    एकै पटक हजारौंका संख्यामा कर्मचारी आन्दोलित हुँदा विधेयक विवादित बन्न पुगेको छ। यससँगै समयमा फेरि संघीय निजामती ऐन आउनेमा आशंका पैदा भएको हो।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा ऐन छिटो ल्याउने दाबी गर्दै एक महिनाअघि नै संघीय निजामती सेवासम्बन्धी विधेयक आवश्यक परामर्श र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। तर, अर्थले विधेयकमा व्यवस्था गरिएका केही प्रावधानले आर्थिक लागत बढ्ने भन्दै त्यस्ता व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ।

    संघीय निजामती सेवा विधेयकमा कर्मचारीको हालको श्रेणीलाई तहगत अवस्थामा लैजादा कतिपय पदमा एक तह वृद्धि गर्न प्रस्ताव गरिएको र त्यसले लागत बढ्नसक्ने भन्दै अर्थ मन्त्रालयले त्यस्तो प्रावधानलाई समर्थन गर्न नसक्ने बताएको हो।