काठमाडौं– रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले बिहीबार अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका पत्रकारलाई वासिङ्टनका लागि जासुसी गरेको आरोपमा हिरासतमा लिएको बताएको छ।
रूसले युक्रेनमा आक्रमण गरेपछि विदेशी पत्रकारविरुद्ध चालेको यो सबैभन्दा गम्भीर सार्वजनिक कदम भएको रोयटर्सले लेखेको छ।
एफएसबीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिक इभान गेर्शकोविचविरूद्ध संदिग्ध जासुसीको लागि आपराधिक मुद्दा चलाएको बताएको छ। उनलाई सैन्य कारखानाको बारेमा राज्यले गोप्य रूपमा वर्गीकृत जानकारी सङ्कलन गरेको आरोप लगाइएको छ।
एफएसबीले कारखानाको नाम र कुनै प्रमाण भने सार्वजनिक गरेको छैन। तर, गोप्य सूचनाहरू प्राप्त गर्ने प्रयास गरिरहेको बेला येकातेरिनबर्गको युराल सहरबाट उनलाई पक्राउ गरेको बताइएको छ।
यो पुष्टि भएको छ कि इभान गेर्शकोविचले अमेरिकी पक्षबाट एक असाइनमेन्टमा काम गर्दै रूसको सैन्य औद्योगिक परिसरभित्रको एक उद्योगको गतिविधिबारे राज्यले गोप्य रूपमा वर्गीकृत गरेको जानकारी संकलन गर्दै थिए,” एफएसबीले आफ्नो विज्ञप्तिमा भनेको छ।
रूसले गत वर्षको फेब्रुअरी २४ मा युक्रेनमा दशौँ हजार सेना पठाएर आक्रमण सुरु गरेयता सेन्सरसिप कानुनलाई कडा बनाएको छ। वाल स्ट्रिट जर्नल र मस्कोस्थित अमेरिकी दूतावासले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।