सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक : मन्त्री मोदी - Chaitanya News
  • 2026-07-03
  • 12:25:06
  • शुक्रबार,आषाढ १९, २०८३
  • सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक : मन्त्री मोदी

    सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक : मन्त्री मोदी

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताका छन।

    बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताका हुन।

    उनले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताए। उनले मुलुकमा ५३ हजार कर्मचारीको दरबन्दी भए पनि दुई हजार मात्रै कर्मचारी स्थानीय तहको रोजाइमा पर्ने गरेको बताए।

    उनले ७५३ स्थानीय तहमा दुई हजार कर्मचारी रोजाइमा रहेकाले ५१ हजार कर्मचारीलाई कहाँ पठाउने? भन्दै स्थानीय तहसँग जवाफ मागे। उनले स्थानीय तहले अधिकृत माग गर्ने बित्तिकै पठाउँदा हुँदैन भनेर मन्त्रालय आउने गरेको बताए। उनले रोजाइको अधिकृत पठाउन माग गर्दै मन्त्रालयमा दैनिक हजार भन्दा बढीको भीड लाग्ने गरेको बताए।

    मन्त्री मोदीले वर्तमान सरकारको पालामा नै संघीय निजामति सेवा ऐन आउनेमा ढुक्क हुन आग्रह गरे। उनले लामो समयदेखि रोकिएको संघीय निजामति सेवा ऐन आफू मन्त्री भएर आएको दुई महिनामा नै प्रक्रिया अगाडि बढाएको बताए।

    उनले ऐन प्रक्रिया अगाडि बढेर अहिले कानून र अर्थ मन्त्रालयमा स्वीकृतको लागि पठाएको बताए। उनले अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने गरी ऐनको प्रक्रिया अगाडि बढाएको उल्लेख गरे।

    उनले संघीय निजामति सेवा ऐनमा तहगत बढुवा हुने र अवकाश अवधि ६० वर्षको अवधि कायम भएको बताए। उनले ऐनमा टे«ड युनियन कस्तो बनाउने भन्ने विषयमा छलफल प्रक्रियामा रहेको बताए।

    उनले स्थानीय तहहरुमा प्रमुख कार्यकारी अधिकृत कसले पठाउने भन्नेमा विकास नभएसम्म केन्द्र तहगत विकास भएपछि प्रदेश सरकारबाट पठाउने ऐनमा व्यवस्था गरिएको बताए। उनले निजामति सेवा ऐनको अभावमा कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्ने प्रयास गरेको बताए।

    त्यस्तै, वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकार संघीय संरचनाअनुसार काम गर्न सक्षम नदेखिएको बताए।

    उनले संघीयताअनुसार काम गर्न नसक्दा जनताले खोजेको जस्तो काम गर्न नसकिरहेको स्वीकार गरे। उनले जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार भएको भन्दै जनताका समस्या समाधान गर्न स्थानीय सरकार सचेत हुनुपर्नेमा जोड दिए।

    उनले केन्द्र सरकारले प्रहरी समायोजन ऐन बने पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको बताए।