कााठमाडौं– नेकपा एमालेका नेता डा. भीम रावलले आफू पार्टीभित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने बताएका छन्।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीभित्र आफूलाई निषेध गर्ने प्रयास भइरहेको भन्दै रावलले यस्तो बताएका हुन्। उपाध्यक्ष विष्णु पौडेलले अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाएका विषयमा समेत उनले आपत्ति जनाए।
‘उहाँहरूले पार्टीबाट अलग भएर गइसकेका माधव नेपालजीलाई राष्ट्रपति बनिदिनुस्, पार्टी एकता गरौँ भन्दा पनि मिल्ने। पुष्पकमल दाहालजीलाई प्रधानमन्त्री बनाउन पनि हुने। अनि मैले यहाँ कुनै मान्छे भेटेपछि भीम रावल समाजवादी भइसक्यो भन्ने? रावलले प्रश्न गरे।
आफूले पार्टी अध्यक्षका लागि दिएको उम्मेदवारीलाई केपी ओलीविरुद्धको कदम भनी कुप्रचार गरिएको उनले पटकपटक दोहोर्याएका थिए। ५० वर्ष रगत–पसिना बगाएर आफैँले बनाएको पार्टी नछाड्ने उनले प्रस्ट पारेका छन् ।