३ वटा मन्त्रालय पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको दाबी - Chaitanya News
  • 2026-05-21
  • 07:33:28
  • बिहिबार,जेठ ०७, २०८३
  • ३ वटा मन्त्रालय पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको दाबी

    ३ वटा मन्त्रालय पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको दाबी

    काठमाडौं– नेकपा एकीकृत समाजवादीले ३ वटा मन्त्रालयमा आफूहरूको दाबी कायम रहेको जनाएको छ।

    सचिवालय बैठकले ३ वटा मन्त्रालय लिने विषयलाई मुख्य बटमलाइन बनाउने निर्णय गरेको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए।

    ‘हामीले यसअघि देखि नै सरकारमा ३ वटा मन्त्रालय दाबी गरेका थियौं। यो दाबी अहिले पनि कायम छ,’ बैठकपछि खतिवडाले भने, ‘अब मन्त्रालय टुंगिएर प्रधानमन्त्रीले मागेपछि हामी नाम दिन्छौं।’

    यसअघि नेकपा एसले गृह मन्त्रालयमा दाबी गरेको थियो।

    तर यो मन्त्रालय माओवादीले राख्दैछ। माओवादीले छोड्ने भौतिक पूर्वाधार मन्त्रालयमा नेकपा एसले दाबी गरिरहेको छ।

    बैठकअघि नेकपा एसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए। यो भेटमा पनि उनीहरूले ३ वटा मन्त्रालय पाउनुपर्ने विषयलाई बटमलाइन बनाएका थिए।

    तर प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिन कोसिस गरे पनि सम्भावना कम रहेको बताएका थिए।

    प्रधानमन्त्रीले यस अघिदेखि नै १० जना सांसद रहेको नेकपा एसलाई २ मन्त्रालय दिने तयारी गरेका छन्।

    नेकपा एसले बेदराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ। तर मन्त्रीका लागि किसान श्रेष्ठ र भानुभक्त जोशी पनि दाबेदार छन्।