रामसागर बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी - Chaitanya News
  • 2026-05-21
  • 07:32:19
  • बिहिबार,जेठ ०७, २०८३
  • रामसागर बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

    रामसागर बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

    जनकपुर– जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ। गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचिमा रहेको नाम छनोट प्रक्रिया विधान सम्मत तरिकाले नगरिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको हो।

    स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचिमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन्।

    सदस्यतर्फ नेविसंघले चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरुले १ नम्बरमा नाम रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दिपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीले बताए।

    उनले आफ्नो नाम दुई नम्बरमा रहेपनि आफूलाई हटाएर त्यस ठाउँमा आफूलाई नेविसंघको नेता भन्ने पुष्पेन्द्र गोइतले आफ्नो साली मनिषाकुमारी यादवको नाम राख्न लगाएको आरोप लगाए।

    उनले ३ नम्बरमा नाम रहेको रञ्जना यादव, ५ नम्बरमा नाम रहेको युगान्धार बाबु साह, ६ नम्बरमा नाम रहेको दीपेन्द्र साह, ७ नम्बरमा नाम रहेको वाल्मिकी कुमार साह र १० नम्बरमा नाम रहेको राम नविन राय अमात्यको नाम हटाइएकोप्रति आफूहरुले विरोध जनाएको बताए।

    सभापति यादवलगायतकाले विधान नै नमानी, नियम उल्लंघन गरेर आफ्नो आसेपासेका चारजनाको नाम सिफारिस गरेको उनको आरोप छ। यसैबिच, उनीहरुले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्।

    ज्ञापनपत्रमा नेपाल विद्यार्थी संघको समानुपातिक सूचीमा इकाई कमिटीमा विवाद देखिएकाले नेविसंघको केन्द्रीय कार्यसमितिको निर्णय नआउन्जेलसम्म नाम प्रकाशन नगर्न आग्रह गरिएको छ।