ललितपुर मेयर महिला च्याम्पियनसिपमा कोसी प्रदेशको दोस्रो जित - Chaitanya News
  • 2026-06-05
  • 18:13:11
  • शुक्रबार,जेठ २२, २०८३
  • ललितपुर मेयर महिला च्याम्पियनसिपमा कोसी प्रदेशको दोस्रो जित

    ललितपुर मेयर महिला च्याम्पियनसिपमा कोसी प्रदेशको दोस्रो जित

    काठमाडौं– ललितपुर मेयर महिला च्याम्पियनसिपमा कोसी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। कोसीले सोमबार सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८३ रनको सामान्य लक्ष्य कोसीले १५.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिम प्रदेशले १८.५ ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो।

    कोसीको जितमा ओपनर काजल श्रेष्ठले अविजित ४० रन बनाइन्। काजलले ५० बलमा पाँच चौका प्रहार गरिन्। कप्तान रुविना क्षेत्री २८ रन बनाएर पभेलियन फर्किदा अप्सरी बेगम चार रनमा अविजित रहिन्।

    सुदूरपश्चिमकी कविता जोशीले एक विकेट लिइन्।

    त्यसअघि १७औँ, १८औँ र १९औँ ओभर गरी तीन ओभरमा दुई रन जोड्दा सात विकेट गुमाएपछि सुदूरपश्चिम ७९–३ को बलियो अवस्थाबाट ८२ रनमा समेटिएको थियो।

    सुदूरपश्चिमका पाँच खेलाडी डक आउट भएका थिए। सुदूरपश्चिमकी लक्ष्मि साउद, इश्वरी बिष्ट, रेवती धामी र मनिषा चौधरी ‘डक’ हुँदा कविता जोशी भने ‘गोल्डेन डक’ भएकी थिइन्।

    सुदूरपश्चिमको खातामा कप्तान विन्दु रावलले ३०, सम्झना खड्काले १६ रितु कनौजियाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    जितसँगै तीन खेलबाट चार अंक जोडेको कोसी प्रदेश अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलबाट चार अंक जोडेको सुदूरपश्चिम भने तालिकाको तेस्रो स्थानमा छ। यसअघि आजै भएको पहिलो खेलमा मधेस प्रदेशले आयोजक ललितपुर मेयर्स–११ विरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो।

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमको सहभागिता छ।