काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन।
सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पु¥याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे।
उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न नेपाल नेत्रज्योति संघलाई आग्रह गरे।
संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
सभामुख घिमिरेले भने ‘‘नेपाल नेत्रज्योति संघले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु। नेत्रज्योति संघले गरेको इमान्दार प्रयत्न र यसले अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रति विश्वास बढेको छ। यसले यो क्षेत्रमा मुलुकले प्रगति गर्दै गइरहेको छ। यो क्षेत्रमा धेरै ठूलो योगदान गरेका धेरै विशिष्ट व्यक्ति हुनुहुन्छ। मेरो ठाउँबाट सक्ने सहयोग गर्न म जहिले पनि तयार छु।’
सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तीमा नेत्रज्योति संघलाई सफलता मिलोस् भन्ने कामनासमेत गरे। कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिएको छ।