काठमाडौं– नेपाल बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ।
ढाकामा आइतबार राति भएको खेलमा नेपाल रुससँग ३–० गोलले पराजित भयो। पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो। रुसका लागि एलिना गोकिलले ६३औं र ७४औं मिनेटमा दुई गोल गरे।
पोलिनाले ८३औं मिनेटमा गोल गर्दै रुसलाई सजिलै जिताए। पाहुना टोलीको रुपमा सहभागी रुसको यो लगातार तेस्रो जित हो । जितसँगै रुसले नौ अंक बनाएको छ। तीन खेलमा दोस्रो हार खेपेको नेपालको तीन अंक छ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ। राउन्ड रोविन लिगको शीर्ष टोलीले उपाधि जित्नेछ। नेपालले आफ्नो चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ।